Madhav Kumar Nepal

संविधान दिवस तथा राष्ट्रिय दिवसको शुभकामना


३ असोज २०७७

शुभकामना

सार्वभौम संविधानसभावाट जारी भएको नेपालको संविधानले आजबाट पाँच बर्ष पुरा गर्दैछ । जनप्रतिनिधिहरूबाट तर्जुमा भएको संविधानबाट शासित हुने जनताको सात दशक लामो चाहना यहि संविधान मार्फत पूरा भएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवसको यस शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता एवम् आपसी सद्‍भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस अवसरमा संविधान हासिल गर्न आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु साथै ऐतिहासिक जनआन्दोलन सहित विभिन्न क्रान्ति र संघर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र मात्र संस्थागत गरेको छैन,  नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, कानूनी राज्य जस्ता लोकतन्त्रका मुल्य मान्यताको जगमा सुशासन र समृद्धि हासिल गर्नका लागि मार्ग प्रशस्त पनि गरेको छ । हामी यहि संविधानको जगमा टेकेर आर्थिक-सामाजिक रूपान्तरण, विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समाजवाद निर्माणको लक्ष्यमा अगाडी बढेका छौं ।

केन्द्रीकृत शासन व्यवस्थाको स्थानमा संघीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको महत्वपूर्ण उपलव्धि हो । संविधान कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा पनि पछिल्लो पाँच बर्षमा महत्वपुर्ण उपलब्धी हासिल भएको छ । ठूलो बलिदानी र संघर्षबाट प्राप्त यो संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आआफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपालीमा म हार्दिक आह्वान गर्दछु । यस दिनले हामीलाई शान्त, समुन्नत र समृद्ध नेपाल निर्माणमा थप प्रेरणा दिने मेरो विश्वास छ । अन्त्यमा, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड१९ को संक्रमणबाट बच्न सजग र सतर्क रहन हार्दिक अनुरोध समेत गर्दछु ।

 
माधवकुमार नेपाल

 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्