Madhav Kumar Nepal

कोही चोइटिएर जालान् तर कम्युनिस्ट पार्टी फुट्दैन : माधव नेपाल

९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिनुभएको छ । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेता नेपालले विधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो भने पतन हुने बताउनुभयो । 

 
‘यदि हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेको छ भने त्यसबाट उम्कियौं, जोगियौं’ उहाँले भन्नुभयो, समय त छ तर धेरै ढिला हुन थालिसकेको छ ।’ पार्टी नेता कार्यकर्तामा कम्युनिष्ट पार्टी फुट्छ कि भन्ने चिन्ता रहेको भन्दै उहाँले पार्टी नफुट्ने बताउनुभयो । ‘कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिष्ट पार्टी फुट्नेवाला छैन’ उहाँले भन्नुभयो । 
 
कार्यक्रममा नेता नेपालले राखेको धारणा उहाँकै शब्दमाः
 
पुष्पलालले ‘कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अग्रदल हो, यसले नेपाली समाजलाई रुपान्तरण गरेर समाजवादको दिशामा अगाडि लैजानुपर्छ’ भन्नुभएको थियो । अहिले कम्युनिस्ट पार्टीको काँधमा त्यही जिम्मेवारी आएको छ । यस क्रममा हामीले धेरै उतारचढावको सामना गरेका छौं । धेरै व्यक्तिहरूले त्याग, तपस्या र बलिदानको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ । नयाँ–नयाँ योद्धालाई अगाडि बढ्न उत्प्रेरित र उत्साहित गर्नुभएको छ । राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको विषयलाई बुलन्द गर्दै नयाँ आशाको किरण सञ्चार भएको छ ।
 
नेकपा मुलुकको राजनीतिको अग्रपङ्क्तिमा उभिएको छ । जनताले नेकपाबाट ठूलो अपेक्षा गरेका छन् । त्यही विश्वासले गर्दा झण्डै दुई तिहाइको मत दिए । अबको प्रश्न भनेको जनताको आशा र अपेक्षा पूरा गर्न सक्छौं कि सक्दैनौं ? भन्ने हो । यो अपेक्षा पूरा गर्न लागिपरेका छौं कि छैनौं ? लागेका छौं त भन्छौं तर पूरा भएको छ कि छैन ? जनमानसमा कस्तो प्रभाव परेको छ ? जनताका क्रिया प्रतिक्रिया, अनुभूति के छन् ? त्यो हामीले सुनिरहेका छौं कि छैनौं ? जनताको हृदयका स्पन्दनहरू श्रवण गरिरहेका छौं कि छैनौं ? एउटा गम्भीर प्रश्न हाम्रो सामु उपस्थित भएको छ ।
 
जनताको भावना र चाहना बुझ्नका लागि पार्टी संगठनहरू क्रियाशील छन् कि छैनन् ? कार्यकर्ताहरू परिचालित छन् कि छैनन् ? यी सबै समस्याहरूका विषयमा गम्भीरताका साथ चिन्तन मनन् गर्नुपर्ने आवश्यकता छ ।
 
हामीले आफ्ना जिम्मेवारी राम्ररी पूरा गर्न सकिरहेका छौं कि छैनौं ? त्यसको पनि व्यक्तिगत र संस्थागत आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता छ । तर समीक्षा गरिरहेका छौं कि छैनौं ? कतै हामी समीक्षाबाट भागिरहेका त छैनौं ? कतै हामी छलफल र बहसबाट भाग्न चाहिरहेका त छैनौं ? आफूले जे सोचेको हो त्योमात्रै सही हो भन्ने कुरा अरूमा थोपर्न त चाहिरहेका छैनौं ? यस्ता प्रश्न हाम्रा सामु आएका छन् ।
 
कम्युनिस्ट आन्दोलनको लामो कालखण्डबाट गुज्रिएर हामीले पनि धेरै–धेरै अनुभवहरू हासिल गरेका छौं । कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अवश्य पनि पहिलो पुस्ताका नेताहरूले ऐतिहासिक योगदान गर्नुभएको छ । दोस्रो, तेस्रो र त्यसपछिका पुस्ताले पनि इमान्दार भएर आफ्नो भूमिका निर्वाह गर्ने काम गर्नुभएको छ ।
 
आगामी चुनौतीलाई यी सबै सन्दर्भमा हेर्नुपर्छ । विचार, संगठन, कार्यशैली, आचरण र वर्ग व्यवहारमा के समस्या रहेका छन् भन्ने विषयमा सही पहिचान, मूल्याङ्कन हुनु आवश्यक छ ।
कम्युनिस्ट आन्दोलनलाई कसैले चाहेर विसर्जनको अवस्थामा पुर्‍याउन सक्दैन । एकीकृत भएको कम्युनिस्ट आन्दोलन २०२२ सालमा पुग्दा छिन्नभिन्न अवस्थामा पुगेको थियो । त्यतिबेला पहिलो पुस्ताले नसकेपछि दोस्रो पुस्ताले अग्रसरता लिने काम गरेको थियो । कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउने काममा दोस्रो पुस्ताले महत्वपूर्ण भूमिका खेल्यो । त्यसक्रममा पहिलो पुस्तालाई पनि एकीकृत गरेर अगाडि बढाउने काम गर्‍यो ।
 
अब यो दोस्रो पुस्ताले सकेन भने तेस्रो र त्यसपछिका पुस्ता आँखा चिम्लेर बस्दैन, बस्नु पनि हुँदैन । निराश भएर बस्नुपर्ने कुनै आवश्यकता छैन । कोही कसैको दास भएर बस्न सक्दैन । नियति यस्तै हो भनेर टाउको समातेर बस्न सक्दैन ।
 
यो आन्दोलनमा नै नेपाली जनता र हामी कार्यकर्ताको भविष्य छ । कम्युनिस्ट पार्टीमा शुभेच्छा राख्नेहरूको भविष्य पनि यही आन्दोलनमा अन्तरनिहित रहेको छ । त्यही भएर नियतिलाई दोष दिएर बस्ने कुरा हुन सक्दैन । त्यही आत्मविश्वासका साथ अगाडि बढ्नु पर्छ । आन्दोलनका निम्ति व्यक्ति वा परिवार होइन नीति र विचार महत्वपूर्ण हुन्छ । त्यही नीति र विचार लिएर नयाँ–नयाँ नेताहरू निर्माण हुन्छन् ।
 
नीति र विचारमा पनि बहस हुन सक्छ । यदि विधिको पालना गरिन्छ भने विचार मन्थनको कुरालाई पनि टुङ्गो लगाउन सकिन्छ । विधि पालना गरिन्छ भने संगठनलाई सुरु गर्न सकिन्छ । त्यसो गरेर सबै कुरालाई गतिमा लैजान सकिन्छ, प्रक्रियामा लैजान सकिन्छ ।
 
विधिको पालना नगरेर ‘मै स्टेट हुँ’ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो, आफूलाई मात्रै केन्द्रबिन्दुमा राख्न थालियो, आफूबाहेक दुनियाँमा कसैको अर्थ छैन भन्ने ठान्न थालियो, त्यस्तो अहंकारको भावनाबाट चल्न थालियो भने त्यस्तो अवस्थामा त्यो व्यक्ति र प्रवृत्तिको पतन हुनेबाहेक अर्को केही पनि हुँदैन । यति हामी कोही त्यस्तो विचार र प्रवृत्तिमा चुर्लुम्म डुबेका छौं भने त्यसबाट उम्कियौं, जोगियौं । समय छ तर समय धेरै ढिला हुन थालिसकेको छ ।
 
यो आन्दोलनको हितका लागि पनि अब हामीले आफूलाई सुधारौं । नयाँ शिराबाट अगाडि बढाऔं, रुपान्तरित होऔं । नेपाली जनताको नासोको रूपमा रहेको यो आन्दोलन र कम्युनिस्ट पार्टीलाई राम्ररी अगाडि लिएर जान सुविचारित, सुसंगठित ढंगले काम गर्नका लागि नयाँ पुस्तालाई सग्लो रूपमा नै दिने ढंगले सोचौं ।
 
आफूसँगसँगै आन्दोलनलाई नै समाप्त पार्ने मूर्खतापूर्ण काम कसैबाट नहोस् । यो मेरो शुभेच्छा वा सद्भाव हो । मलाई लाग्छ त्यो मूर्खतापूर्ण काम कसैले पनि गर्दैन । तपाईंहरूलाई चिन्ता छ कम्युनिस्ट पार्टी फुट्छ कि भनेर, फुट्दैन । कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिस्ट पार्टी फुट्नेवाला छैन ।
 
तर हामीमध्ये कतिपय मान्छे कस्ता छन् भने कसैले पत्रिकामा भनिहाल्यो भनेर डरले थर–थर काँप्छ्न् । यसरी डराउनुपर्ने कुनै आवश्यकता छैन । यो आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने काम हामीले गरेका छौं । सक्छौं भन्ने संकल्प र आँटका साथ कम्युनिस्ट पार्टीलाई अगाडि बढाउनु पर्छ । कम्युनिस्ट पार्टी र आन्दोलन अगाडि बढ्छ ।
 
सकारात्मक रूपमा सोच्ने पनि होलान् नकारात्मक रूपमा सोच्ने पनि होलान् । भ्रम पैदा गर्ने वा कुप्रचार गर्नेको पछि लाग्नुपर्ने कुनै कारण छैन । तरङ्गित हुनुपर्ने आवश्यकता छैन ।
 
तपाईंहरूले विश्वास गरेर हामीलाई अगाडि बढाउनु भएको छ । त्यो विश्वासमा घात नहोस् भन्ने कुराप्रति तपाईंहरू पनि सजग रहनुपर्छ । यो आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका लागि अहिले अवसर प्राप्त गरेका छौं । सरकारका विभिन्न तहमा जनताले हामीलाई जिम्मेवारी दिएका छन् ।
 
हाम्रो विचार र नीति लागु गर्नका लागि, सुखी नेपाली समृद्ध नेपालका लागि जुन जिम्मेवारी सुम्पेका छौं । त्यो पूरा गर्नका लागि गम्भीर बन्नुपर्छ । कस्तो मोडेलको समाजवाद, आर्थिक नीति अवलम्बन गर्न चाहन्छौं, समाजलाई कस्तो संस्कार दिन चाहन्छौं ? त्यसका लागि हामीले नेतृत्व गर्नुपर्छ । काम व्यवहार र विचारको अगुवाइ हामीले गर्नुपर्छ ।
 
नेपाली राजनीतिमा अरूले त्यस्तो गर्न सक्दैन । नेपाल कम्युनिस्ट पार्टीले मात्रै गर्न सक्छ । त्यो विरासतलाई कुशलताका साथ अगाडि बढाएर लैजानुपर्छ । युद्धकालमा जस्तै त्याग तपस्या हुनुपर्र्छ । युद्धकालीन त्याग सत्तामा गएका बेला बिर्सन मिल्दैन । हामीमा त्यही त्याग त्यही तपस्या भएन भने आन्दोलन विसर्जनबाहेक अन्त जाँदैन । जनताले हामीलाई दिएको जिम्मेवारी इमान्दारपूर्वक पालना गर्नुपर्छ ।
 
पार्टीभित्रको समस्यालाई पनि छलफलबाट समाधान गर्न अधिकतम कोसिस गरिरहेका छौं । हाम्रा निम्ति व्यक्ति प्रमुख होइन विधि, नीति, पद्धति प्रमुख कुरा हो । यही विधि, पद्धतिको आधारमा सामूहिक निर्णय गर्ने र सबैले त्यसलाई पालना गर्ने लेनिनवादी सिद्धान्त पार्टीले अगाडि सारेको छ ।
 
बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ भन्ने कुरालाई सबैले पालना गर्नुपर्छ । म मान्दिन भन्ने छुट कसैलाई पनि छैन । सबैमा यो चेत पलाउनेछ । हामी सबैले जिम्मेवार भएर सोचौं । आफूलाई अपरिहार्य नठानौं, सबैको बुद्धि, खुबी, क्षमता, योग्यता र आ–आफ्नो भूमिका सम्झेर अगाडि बढौं र कमीकमजोरी सुधारौं ।
अनलाइनखवरबाट

 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्