Madhav Kumar Nepal

पटक-पटक विवाद गरिरहनुभन्दा सिमानामा काँडेतार लगाऔं : माधव नेपाल

२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपालले तत्काल नेपालकाे नयाँ नक्सा जारी गर्नुपर्ने बताउनुभएकाे छ । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले उक्त कुरा बताउनुभएकाे हाे ।
 
नेता नेपालले नेपाल र भारतबीच खुला सिमाना भएकाले विभिन्न समस्या आइरहेको भन्दै पटक-पटक विवाद गरिरहनुभन्दा सिमानामा काँडेतार वा पर्खाल लगाउन सकिने समेत बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘विवाद सधैंभरि गर्नु छ भने त्योभन्दा राम्रो त कन्ट्रोल गर्नेतिर जानुपर्यो । त्यसको निम्ति काँडेतार लगाएर हुन्छ कि, पर्खाल खडा गरेर हुन्छ कि । सधैंभरि विवाद गर्नुभन्दा त केही उपाय गर्नु राम्रो ।’
 
पहिलेदेखि नै सीमा मिच्ने काम भइरहेकाे पनि उहाँले बताउनुभयाे । उहाँले भन्ननुभयाे, ‘सीमा मिच्ने काम भइरहेको छ । दशगजा क्षेत्रमा बाँध बाध्ने काम भइरहेको छ । हुँदाहुँदा त सुरक्षाफौज लगाएर बाटो निर्माणको काम भयो ।’
 
नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्नेमा जोड पनि दिनुभयाे । कोरोनका त्रासकाबीच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको समेत उहाँले बताउनुभयाे । उहाँले सानो छिमेकी देशप्रति भारतको दृष्टिकोण नै ठीक छैन कि भन्ने देखिएको पनि बताउनुभयाे । भारतले नेपाली भूमिमा सडक बनाउने कामले नेपाली स्वाधिनतामाथि प्रहार भएको समेत नेता नेपालले बताउनुभयाे ।
 
नेता नेपालले तथ्यको आधारमा विवादबारे बसेर छलफल गर्न सकिने र विवादित ठाउँमा भारतले विवादित काम गर्नु नहुने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘नेपालको पश्चिम सिमाना लिम्पियाधुरासम्म पर्दछ । त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरु छन् । हामीसँग थुप्रै नक्सा र दस्तावेजहरु छन् । यस्ता तथ्य प्रमाणले नेपालको सिमाना कालीनदी र त्यसको उद्गम लिम्पियाधुरा हो ।’
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्