Madhav Kumar Nepal

खण्डन !

 खण्डन !
आज प्रकाशित एक साप्ताहिकको समाचारमा कुनै पार्टी नेताको भनाइ उदृत गर्दै प्रकाशित समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारलाई आधार बनाई विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नाम जोडिएको र कतिपय स्थानबाट त्यसलाई अतिरञ्जित गरिएको विषयको जोडदार खण्डन गर्दछौँ । साथै यस्ता भ्रामक, कपोलकल्पित र दुराशयपूर्ण प्रचारबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरुमा हार्दिक अपील गर्दछौँ ।
टुक्रा टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) र नेकपा (एमाले¬) जस्तो एकिकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने अथक योद्धा र नेतृत्वकर्तालाई पार्टी विभाजन जस्तो विषयमा कुत्सित मनशायले लाञ्छित गर्न खोजिएको छ । यसले आज हामी सबै नेता कार्यकर्ताहरुको गन्तव्य प्रति गंभीर प्रश्न खडा गरेको छ । पार्टीलाई संस्थागत निर्णयको आधारमा सञ्चालन गर्नुपर्ने र निर्णयलाई जस्तोसुकै कठीन परिस्थितिमा पनि कार्यान्वयन गर्नुपर्छ भन्ने मान्यता राख्ने नेताको मानमर्दन र सुनियोजित ढङ्गले चरित्रहत्यामा संलग्न हुनेहरु समयको कठघरामा उभिनुपर्नेछ ।
असंख्य चुनौतीहरुको सामना गर्दै फरक सिद्धान्त, दृष्टिकोण र कार्यशैली सहित निरन्तर अघि बढेका विभिन्न पार्टीकाहरुलाई संयोजन गरी शान्ति प्रक्रियामा ल्याउने र राष्ट्रको नेतृत्व गर्ने नेताप्रति गरिएका यस्ता दुश्प्रचारपूर्ण क्रियाकलापहरु कदापी क्षम्य हुन सक्दैनन् । अतः अतिवादी कित्ताबाट हुने कुनै पनि सुनियोजित कुप्रचारहरुका विरुद्ध जुट्न र एकिकृत कम्युनिष्ट आन्दोलन, संस्थागत पार्टी निर्णय परिपालन, राष्ट्रिय एकता र स्वाभिमान, तीब्र आर्थिक विकास, समृद्धि र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता कमरेड माधव नेपालका मान्यतामा सहयोग र समर्थन गर्न सम्पूर्ण पार्टी पंक्ति तथा आम जनसमुदायलाई हार्दिक अपील गर्दछौँ ।

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्